नियम १३
विशेष राहदानी

(१) नेपाल सरकारबाट मनोनयन भई सरकारी काम वा अध्ययन वा अध्ययन भ्रमण वा तालीमको सिलसिलामा विदेश भ्रमणमा जाने देहायका पदाधिकारीलाई सम्बन्धित संबैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयबाट लेखी आएमा विभागले विशेष राहदानी जारी गर्नेछः–

(क) नियम १२ बमोजिम कूटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका–संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विशेष सेवाका अधिकृत,

(ख) जिल्ला अदालतका न्यायाधीश,

(ग) जिल्ला विकास समितिका उपसभापति वा महानगरपालिका उपप्रमुख वा उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख,

(घ) नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर,

(ङ) प्रचलित ऐन वा नेपाल सरकारको कार्यकारी आदेशद्वारा गठित आयोगका पदाधिकारीहरु ।

(२) उपनियम (१) बमोजिम जारी हुने राहदानीको वहाल अवधि राहदानी बाहकको सेवा अवधि वा पदावधि समतलाई ध्यानमा राखी त्यस्तो कर्मचारी अवकाश हुने मितिभन्दा बढी अवधि बहाल नरहने गरी बढीमा दश वर्षसम्मको अवधि कायम रहने गरी जारी गर्न सक्नेछ । तर त्यस्तो राहदानी बाहक विदेशमा नेपाल सरकारबाट खटाई कार्यरत रहेकै बखत पदावधि समाप्त हुने रहेछ भने निजका हकमा अवकाश हुने मितिमा बढीमा छ महिना थप गरी जारी गर्न सक्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएका भए तापनि कुनै खास प्रयोजनको लागि सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा अदालत वा सचिवालय वा कार्यालयबाट विशेष राहदानी दिनको लागि सिफारिस भई आएमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयद्वारा विशेष राहदानी दिने भनी निर्णय भएका पदाधिकारी वा विशेष व्यक्तिलाई विभागले पदाधिकारीको पदावधि अनुसार एक वर्षदेखि बढीमा पाँच वर्षको अवधि कायम रहने गरी विशेष राहदानी जारी गर्न सक्नेछ ।

(४) नेपाल सरकारबाट मनोनयन भई छात्रवृत्तिमा अध्ययन गर्न वा अध्ययन भ्रमण वा तालीमका सिलसिलामा विदेश जाने अन्य कर्मचारीलाई विशेष राहदानी जारी गर्न सक्नेछ ।

(५) संयुक्त राष्ट्र संघ शान्ति सेनामा खटी जाने नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका कर्मचारीको लागि सम्बन्धित निकायबाट अनुरोध भई आएमा विशेष राहदानी जारी गर्न सकिनेछ ।

(६) विशेष राहदानी जारी गर्दा कुनै दस्तुर लाग्ने छैन ।